राष्ट्रिय व्यवसायिक पहल (NBI) को बीसौं वार्षिक साधारण सभा काठमाडौंको मन्डिखाटारमा सम्पन्न भएको छ। कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्राको स्मरण गर्दै यो अवधिमा सदस्य संघ-संस्थाहरूले दिएको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मुलुक हाल राजनैतिक संक्रमण र बारम्बार दोहोरिने प्राकृतिक विपद्को दोहोरो चुनौतीबाट गुज्रिरहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्र थप जिम्मेवार र तयार भएर उभिनुपर्ने आवश्यकतामा जोड दिनुभयो।
सभाले यस वर्ष पहिलो पटक साधारण सभामा सहभागी हुनुभएका सदस्य संघ-संस्थाका अध्यक्षज्यूहरूलाई सम्मान सहित स्वागत गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनमा निर्वाचित भएका राष्ट्रिय व्यवसायिक पहलका हालका कार्यसमिति सदस्यहरू तथा सदस्यहरूलाई पनि सम्मान गरियो। त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिमा निर्वाचित हुनुभएका पहलका कोषाध्यक्ष सरोज प्रसाद पाण्डे (उपाध्यक्ष पदमा निर्वाचित), महासचिव सुरेन्द्रवीर मालाकार (पहलको तर्फबाट संस्थागत सदस्य) तथा सचिव सुरेश प्रधान (कार्यसमिति सदस्यमा निर्वाचित) लाई पनि सभाले विशेष रूपमा सम्मान गर्दै संस्थाको प्रतिनिधित्व अन्य निकायमा समेत पुगेकोमा हर्ष व्यक्त गर्यो।
कार्यक्रमको दोश्रो सत्रमा महासचिव सुरेन्द्रवीर मालाकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत वर्ष सम्पन्न गरेका प्रमुख गतिविधिहरूबारे सभालाई जानकारी गराउनुभयो। त्यसैगरी कोषाध्यक्ष सरोज प्रसाद पाण्डेले संस्थाको वार्षिक आयव्यय तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गर्यो।
कार्यक्रमको खुला छलफल सत्रमा मुलुकमा बढ्दो प्राकृतिक प्रकोपको जस्तै बाढी-पहिरो तथा हिमताल विष्फोटन (GLOF) इत्यादिको जोखिमहरू र यस सन्दर्भमा राष्ट्रिय व्यवसायिक पहललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM) क्षेत्रको एक सक्षम र भरपर्दो निजी क्षेत्रको निकायका रूपमा स्थापित गर्ने विषयमा गहन छलफल भएको थियो। सहभागी सदस्यहरूले हालैको रसुवा हिमताल विष्फोटनजस्ता घटनाहरूबाट सिकिएका पाठहरू, निजी क्षेत्रको तयारी अवस्था, र सरकार, दातृ निकाय तथा सामुदायिक निकायसँगको समन्वयमा पहलले खेल्नुपर्ने भूमिकाबारे आ-आफ्ना धारणा राखेका थिए। छलफलमा रसुवाको घटनाबाट पाठ सिक्दै निजी क्षेत्रसँग भएका स्रोत साधन जस्तै यातायात, गोदाम, ढुवानी सञ्जाल, र तत्काल परिचालन हुन सक्ने कोषलाई विपद्को बेला राज्यको संयन्त्रसँग जोड्ने संस्थागत संरचनाको अहिले अभाव रहेकोले यसमा थप कार्यको आवश्यकता रहेको औंल्याइयो। यस विषयमा थप ठोस काम अघि बढाउने जिम्मेवारी कार्यसमितिलाई सुम्पिने सहमति भयो।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष सुकुन्तलाल हिराचनले स्थापनाकालदेखि नै संस्थाले मुलुकको आवश्यकता अनुसार आफूलाई ढाल्दै आएको स्मरण गर्दै विपद् व्यवस्थापनतर्फको यो नयाँ अभिरुचि पनि त्यही परम्पराको निरन्तरता भएको बताउनुभयो।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, साधारण सदस्यहरू र सरकारी तथा दातृ निकायका प्रतिनिधि लगायतका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।













